श्रीलंकामा चरम इन्धन संकट, १० घण्टे लोडसेडिङ, अस्पतालमा शल्यक्रिया रोकियो

कोलोम्बो, एजेन्सी – श्रीलंकामा इन्धन संकट उत्कर्समा पुगेको छ। बुधबारदेखि १० घण्टाभन्दा बढि विद्युत कटौती सुरु भएको छ। बजारमा मैनबत्ती अभाव हुँदा जनता अन्धकारमा बस्न बाध्य भएका छन। अत्यावश्यक वस्तुको अभाव भएकोले बजारमा पाउनै मुस्किल भएको छ। मूल्यवृद्धि चरम उत्कर्षमा पुग्नाले आम जनताको जीवन कष्टकर बनेको छ ।

श्रीलंकामा अहिलेसम्मकै सबैभन्दा ठूलो लोडसेडिङ तालिका सार्वजनिक भएको छ। स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती सुरु गरेको छ । मुलुकमा पेट्रोलियम पदार्थको चरम अभाव हुँदा विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको छ । देशमा खाद्यान्न तथा पेय पदार्थको चरम अभाव हुँदा आक्रोशित जनताले गोताबाया राजापाक्षे सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

औषधि पसल र अस्पतालको अवस्था पनि उस्तै छ । देशमा औषधिको अभावका कारण शल्यक्रिया ठप्प भएकाले धेरै बिरामीको ज्यान जाने जोखिम पनि बढेको छ ।

श्रीलङ्काको विद्युत बोर्डले विद्युत उत्पादन गर्न इन्धन नभएकाले महिनाको सुरुदेखि सात घण्टाको विद्युत कटौती अहिले १० घण्टामा झारेको जनाएको छ ।

गहिरिंदो ऊर्जा संकट

श्रीलंकाको ४० प्रतिशतभन्दा बढी विद्युत जलविद्युतबाट उत्पादन हुने अधिकारीहरूले बताएका छन् । इन्धन संकट मात्र होइन, वर्षा नहुँदा अधिकांश खोला र जलाशयमा पानी सुकेको हुनाले विद्युत् उत्पादन कठिन बन्दै गएको छ ।

श्रीलंकामा धेरैजसो बिजुली उत्पादन कोइला र तेलबाट आउँछ। श्रीलंका यी दुवै कुराका लागि आयातमा निर्भर छ। तर देशको विदेशी मुद्रा सञ्चिति खाली भएकाले अत्यावश्यक सबै वस्तु आयात हुन सकेको छैन ।

यसैबीच, सरकारी स्वामित्वको खुद्रा इन्धन विक्रेता सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले कम्तिमा दुई दिनसम्म देशमा डिजेल नपाउने बताएको छ।

सीपीसीले पेट्रोल पम्पहरूमा

लामो लाइनमा तेलको लागि पर्खिरहेका सवारी चालकहरूलाई घर फर्कन र इन्धन आपूर्ति भएपछि आउन आग्रह गरेको छ। यो वर्षको सुरुदेखि नै पेट्रोल र डिजेलको मूल्य पनि ह्वात्तै बढेको छ । हालसम्म पेट्रोलको मूल्य ९२ प्रतिशत र डिजेलको ७६ प्रतिशतले बढेको छ ।

खाना पकाउने ग्यास र मट्टितेल किन्न सरकारलाई रकम जुटाउन १२ दिन लाग्ने अधिकारीहरुले बताएका छन् । सरकारले कुनै न कुनै रूपमा ४४ मिलियन डलर जुटाऊने र त्यसपछि अत्यावश्यक वस्तु आयात गर्न सकिने जनाएको छ।

श्रीलंकासँग ठूलो विदेशी ऋण छ। मार्च २०२० देखि सरकारले अत्यावश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो। श्रीलंकाले ५१ अर्ब डलरबराबरको वैदेशिक ऋण तिर्नुपर्ने बाध्यता छ। आयातमा प्रतिवन्धसंगै श्रीलंकामा सबै अत्यावश्यक वस्तुको चर्को अभाव हुँदै आएको छ साथै मूल्यमा पनि तीव्र बृद्धि हुँदै आएको छ।

अत्यावश्यक खाद्यान्नदेखि औषधिको चरम अभाव

श्रीलंकामा चामल, चिनी, दूध जस्ता अत्यावश्यक वस्तुको चरम अभाव छ । पसलमा पाइने सामानको मूल्य देखेरै सर्वसाधारणले ती समानहरु किन्न सकिरहेका छैनन् । नागरिकको बसाइ सराई दर तिव्र बन्दै गएको मात्र छैन उनीहरु देश छाडेर छिमेकी भारतमा समेत छिरिसकेका छन् । श्रीलंकामा अत्यावश्यक औषधि र स्वास्थ्य सुविधा नहुँदा धेरै अस्पतालमा शल्यक्रिया रोकिएको छ।

प्रतिक्रिया