हैदराबादलाई जितेपनि मुम्बई प्लेअफमा पुग्न असफल

काठमाडौं । इशान किशनको ८४ र सुर्यकुमा यादवको ८२ रनप्रेरित मुम्बई इन्डियन्सले आज इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई ४२ रनले हराएपनि प्रतियोगिताको प्लेअफमा स्थान बनाउन भने असफल बनेको छ ।

मुम्बइले चौथो स्थानको कोलकाता नाइट राइडर्ससँग अंक बराबरी गरे पनि रनरेटमा पछि परेपछि लिग चरणबाटै बाहिरिएको हो । कोलकाता र मुम्बईको समान १४ अंक छ । तर, कोलकाताको नेट रनरेट ०.५८७ छ भने मुम्बईको ०.११६ छ । आज मुम्बईले फराकिलो अन्तरमा हराएको भए प्लेअफ पुग्ने सम्भावना थियो । तर अब त्यो समाप्त भएको

कोलकाताले दोस्रो क्वालिफायर्समा पुग्नका लागि रोयल च्यालेन्सर्ज बैंगलोरसँग प्रतिस्पर्धा गर्नेछ ।

किशनले ८४ र यादवले ८२ रन बनाएपछि आबुधाबीस्थित जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । किशनले ३२ बलमा ११ चौका र ४ छक्कासहित ८४ रन बनाए । यादवले ४० बलमा १३ चौका र तीन छक्का प्रहार गरे । त्यसबाहेक कप्तान रोहित शर्माले १८, किरन पोलार्डले १३ र हार्दिक पाण्डेयले १० रन बनाए

हैदराबादका जसोन होल्डरले चार विकेट लिँदा राशिद खान र अभिशेक शर्माले समान दुई विकेट लिए । उमरान मलिकको नाममा एक विकेट रह्यो ।

२३६ रनको लक्ष्य पछ्याएको हैदराबादका लागि कप्तान मनिष पाण्डेयले सबभन्दा धेरै अविजित ६९ रन बनाए । ओपनर जसन रोयले ३४, अभिशेक शर्माले ३३ र पियाम गर्गले २९ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका जसप्रित बुमराह, नाथन कौल्टर–नेल र जेम्स नीशमले समान दुई विकेट लिए । ट्रेन्ड बोल्ट र पियुस चावलाको नाममा एक–एक विकेट रह्यो ।

प्रतिक्रिया