तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन प्रधानमन्त्रीलाई सत्तारुढ दलको आग्रह
काठमाडौं, असोज १० । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलको बैठकपछि तत्काल मन्त्रीपरिषद् बिस्तार गर्न आग्रह गरेका हुन् । बैठकमा नेताहरुले सरकारलाई पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिए ।अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ ।
दल विभाजनका लागि सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद हुँदा सरकारले नै पूर्णता पाउन नसकेको हो ।
अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने अडान जनता समाजवादी पार्टीको रहेकाले सरकारले पूर्णता पाउन नसकेको हो । उक्त अध्यादेश भने २३ भदौमा प्रतिनिधिसभामा टेबल गरिएको छ ।
अध्यादेशको टुंग्गो गरेर सरकारको काम कार्वाही चुस्त बनाउन नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मा दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले भने मन्त्री बन्नेहरूको नाम नेताहरुसँग माग्नुभएको थियो ।
हाल सरकारमा सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेसका तर्फबाट चार तथा माओवादीका तर्फबाट दुई जना मात्रै मन्त्री छन्। मन्त्री नहुादा मन्त्रालयको काममा असर परेको कर्मचारीहरुले बताइरहेका छन् ।



प्रतिक्रिया