विश्वप्रसिद्ध फुटबलर मेसीका लागि ‘कोपा अमेरिका’ फाइनल खेलजिवनकै महत्वपूर्ण ।

पृतांक राष्ट्रिय दैनिक 

गणेश थापा, १० जुलाई २०२१ । क्यालिफोर्निया, अमेरिका ।

फुटबल खेलको इतिहासमा सवैभन्दा बढी पॉच पटकको विश्वकप उपाधी विजेता ब्राजील अमेरिकी समय अनुसार शनिवार बिहान कोपा अमेरिकाकपको फाइनलमा अर्जेन्टिनाको सामना गर्दैछ ।

कोभिड-१९ को महामारीका कारण विनादर्शक जारी प्रतियोगिताको फाइनल खेललाई अन्तर्राष्ट्रीय संचारमाध्यमहरूले दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाका महान फुटबलर तथा वर्तमान समयका संसारकै प्रसिद्ध खेलाडी लियोनल मेसी र ब्राजिलियन स्टार नेयमार बीचको भिडन्तको रूपमा समेत ब्याख्या गरिरहेका छन् ।

तुलनात्मक रूपमा सुरूवाती चरणमा युरोकपभन्दा कमै मात्रामा प्रचारप्रसार भएको कोपा अमेरिकाको फाइनलमा विश्व फुटबलका यी दुई महारथीबीचको भेटले प्रतियोगिताको रौनक बढ्नुका साथै विश्वभरी नै चर्चा र चासो समेत चुलिएको छ ।

यता व्यावसायिक खेलजिवनमा विश्वकै सफल खेलाडी मानिएका मेसीले भनेका छन्-‘आफू फुटबल करियरकै सवैभन्दा महत्वपूर्ण उपलब्धि नजिक रहेको र फाइनलमा ब्राजिललाई पराजित गरी देशका लागि उपाधि उचाल्दै इतिहास रच्ने आफ्नो लक्ष्य रहेको छ ।’

अर्जेन्टिनामै सवैभन्दा बढी रकम राज्यलाई कर तिर्ने खेलाडीको रूपमा परिचित ३३ वर्षिय मेसीले सन् २०१४ को विश्वकपको फाइनलमा १-० को झिनो अन्तरले जर्मनीसंग हार ब्यहोर्नुपरेको उही ब्राजिलियन ग्राउण्डमा अबको केही घण्टापछि कोपा अमेरिका कपको फाइनल खेल्दैछन् ।

देशका लागि अहिलेसम्म कुनैपनि अन्तर्राष्ट्रीय उपाधि दिलाउन नसकेका अर्जेन्टिनाका यी महान फुटबलर मेसीले तीनपटक कोपा अमेरिका र एकचोटी विश्वकपको फाइनलमा आफूलाई उतारिसकेका छन् । अर्जेन्टिनाले सन् १९९३ यता कुनैपनि अन्तर्राष्ट्रीय प्रतियोगितामा सफलता प्राप्त गर्नसकेको छैन ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल एरिनामा अत्यधिक आकर्षक र प्रतिक्षित खेलाडी मेसीका लागि कोपा अमेरिकापछि कतार विश्वकप नै अन्तिम अन्तर्राष्ट्रीय प्रतियोगिता हुनसक्ने विभिन्न संचारमाध्यमहरूको विश्लेषण छ ।

यता ब्राजिलियन स्टार नेयमार भने घरेलु मैदानमा जारी कोपा अमेरिका कपको फाइनलमा चिर-परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनालाई पाएकोमा निकै दंग छन् । प्रतियोगिताको अन्तिम खेल मेसीको टिमसंग खेल्ने आफ्नो अपेक्षा पुराभएको बताउदै उपाधि प्राप्तीका लागि ब्राजिलले उत्कृष्ट प्रदर्शन गर्ने कुरा समेत उल्लेख गरेका छन् ।

नौपटकको कोपा अमेरिका विजेता ब्राजिल पेरूलाई १-० ले पराजित गरी फाइनल प्रवेश गरेको हो भने पेनाल्टी सुटआउटमा कोलम्बियालाई पाखा लगाउदै ब्राजिलसंगको अन्तिम भेट पक्का गरेको अर्जेन्टिना भने १५औं पटक उपाधि हात पार्न चहान्छ ।

प्रतिक्रिया